काठमाडौं । विभिन्न क्षेत्रसँग सम्बन्धित् चार ओटा उत्पादनमूलक कम्पनीहरु प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
प्रत्यक्ष उत्पादनमूलक उद्योगहरुमा सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एण्ड आयल र घोराही सिमेन्ट उद्योग छन् । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक विल्डिङ विधि प्रयोगमा ल्याउने तयारी अनुरुप वास्तविक क्षेत्रका कम्पनीहरु शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् ।
ती उद्योगहरुमध्ये सवैभन्दा पहिले सर्वोत्तम सिमेन्टले आईपीओ निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवदेशन दिएको हो। बोर्डको आईपीओ पाइपलाइनमा विभिन्न क्षेत्रका ३४ ओटा कम्पनीहरुले आवेदन दिएका छन् ।
धितोपत्र बोर्डले प्रत्यक्ष उत्पादनमूलक उद्योगलाई थप प्रिमियम जोडेर तथा बुक विल्डिङ विधिबाट पनि आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै ती कम्पनीहरुले आईपीओ निस्कासन गर्ने तयारी गरेका हुन् ।
उक्त विधिमार्फत सर्वोत्तम सिमेन्ट र रिलाइन्स स्पिनिंग मिल्सले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर र रिलाइन्स स्पिनिंग मिल्सले ७ लाख ७० हजार ६४० कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । घोराही सिमेन्ट इन्डष्ट्रिले भने प्रिमियम मूल्यमा नै ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्कासन गर्न निवेदन दिएको छ ।
यसअघि शिवम् सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो । हाल दोस्रो बजारमा ६ ओटा उत्पादनमूलक कम्पनी मात्रै सूचीकृत छन् । धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत् वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजीबजारमा भित्र्याउने उदेश्य लिएको छ ।
बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्न हालसम्म ७४ ओटा संस्थागत लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । यो खबर आर्थिक अभियानमा छापिएको छ ।