ललितपुर । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिँदै थियो ।
लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।
परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो।