Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कर्जाको औसत ब्याजदर नै १२ प्रतिशत नाघ्यो

कर्जाको औसत ब्याजदर नै १२ प्रतिशत नाघ्यो

दैनिकी न्यूज

६, कार्तिक २०७९
कर्जाको औसत ब्याजदर नै १२ प्रतिशत नाघ्यो
images

काठमाडौं । उद्योगी, व्यापारीले चर्को विरोध गरिरहेका बेला वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर नै १२ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले लागू गरेको कसिलो मौद्रिक नीति र बजारमा देखिएको तरलता अभावका कारण बैंकहरूको लागत बढेपछि कर्जाको ब्याज पनि महँगो भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत भदौमा बैंक कर्जाको औसत ब्याजदर १२ दशमलव शून्य ६ प्रतिशत पुगेको छ । १ वर्षअघि यस्तो ब्याजदर ८ दशमलव ५७ प्रतिशत थियो । बैंकहरूको लागत बढेर आधारदर नै माथि पुगेपछि कर्जाको ब्याजदर बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको प्रतिवेदनमा चालू आर्थिक वर्ष ९आव० को भदौमा बैंकहरूको आधारदर नै १० दशमलव शून्य १ प्रतिशत पुगेको उल्लेख छ । १ वर्षअघि यो दर ६ दशमलव ८९ प्रतिशत थियो ।

तेस्रो त्रैमास सकिएपछि बैंकहरूले कर्जाको ब्याजदर अत्यधिक बढाएको भन्दै गत सातादेखि उद्योगी, व्यवसायीले सडक आन्दोलनसमेत शुरू गरिसकेका छन् । ब्याजदरको विषयलाई लिएर उद्योगी, व्यवसायी र बैंकबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

राष्ट्र बैंकका अनुसार भदौमा बैंकहरूको निक्षेपको औसत ब्याजदर पनि अघिल्लो वर्षको ४ दशमलव ९२ बाट ७ दशमलव ८१ प्रतिशत पुगेको छ । तरलता अभावसँगै निक्षेप बढाउन बैंकहरूले बचतको ब्याजदर वृद्धि गरेपछि कर्जाको पनि बढेको हो ।

बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन् । यसले गर्दा आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ । बैंकहरूले त्रैमासिक आधारदरका आधारमै कर्जाको ब्याजदर समायोजन गर्न पाउने व्यवस्था छ ।

ब्याजदर वृद्धि भए पनि बैंकहरूको निक्षेप तथा कर्जामा सुधार आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार भदौमा बैंक तथा वित्तीय संस्थाको निक्षेप शून्य दशमलव ९ प्रतिशतले घट्दा कर्जा प्रवाह शून्य दशमलव ५५ प्रतिशतले मात्र बढेको छ । यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - ०८:३३:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology