Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सतारुढ गठबन्धनको आयु लामो छः गिरीराजमणि पोखरेल

सतारुढ गठबन्धनको आयु लामो छः गिरीराजमणि पोखरेल

दैनिकी न्यूज

२९, कार्तिक २०७९
सतारुढ गठबन्धनको आयु लामो छः गिरीराजमणि पोखरेल
images

महोत्तरी क्षेत्र नं. १ मा सतारुढ गठबन्धनकोतर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । उनलाई सत्तारुढ पाँच दलीय गठबन्धनको साथ छ । पोखरेल अधिकांश समय चुनावी अभियानमा मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । नेता पोखरेलसँग चुनावी सन्दर्भमा धनवीर महतोले गरेको कुराकानीः

पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा उत्रिनुभएको छ । कहिलेसम्म टिक्ला यो गठबन्धन ?

हामी पाँच दलीय गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छौँ । सिट बाँडफाँट गरेर देशभरिमा नै चुनावी प्रतिस्पर्धामा छौँ । यो गठबन्धनकै आधारमा देशले बहुमतको सरकार पाउनेछ । यसमा कुनै संकोच छैन । अहिले देशलाई विकासको माध्यमले निकास दिनु आवश्यकता छ । जुन कार्य गठबन्धनले मात्र गर्न सक्छ ।

अहिले देशको मुहार परिवर्तनका लागि सत्तारुढ गठबन्धनको आवश्यकता छ । त्यसैले यो गठबन्धनको आयू लामै छ । फेरि यो गठबन्धन प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा गर्न बनेको हो । हामी पाँचै दल त्यसमा एक मत छौँ । संविधानको सफल कार्यान्वयनका लागि पनि यो गठबन्धन आवश्यक छ ।

यसअघिको निर्वाचनमा यहाँको पार्टीले नेकपा एमालेसँग वामगठबन्धन गरेको थियो । तर त्यो गठबन्धन त टिकेन नि ?

वि.सं. २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको क्रममा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी एकताकै कारण देशले तत्कालीन समयमा केपी शर्मा ओलीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार पायो । तत्पश्चात नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भयो ।

समयको क्रमसँगै केपी ओली गुटकै कारण हाम्रो पार्टी पूर्ववत रूपमा फर्किनुपर्‍यो । म देशहितको लागि मन्त्री पद त्यागेर पार्टीको काममा लागेँ । त्यसकारण त्यो बेलाको गठबन्धन र अहिलेको गठबन्धनको तुलना हुँदैन । अहिले संविधानको रक्षा गर्ने र प्रतिगमन रोक्ने हाम्रो मुख्य उद्देश्य हो ।

माओवादीका कार्यकर्ताहरूले पनि पार्टी छाडेका छन्, यसबारेमा के भन्नुहुन्छ ?

केपी ओलीका कारण नेकपा विभाजित भएपछि हाम्रो पार्टीका केही नेता-कार्यकर्ताहरू एमालेमा लाग्नुभएको कुरा साँचो हो । तर, उहाँहरू जुन गतिमा पार्टी छाडेर एमालेमा जानुभयो त्यो भन्दा तीव्र गतिमा पार्टीमा फर्कंदै हुनुहुन्छ । एमालेमा गएका साथीहरू वाक्क भएर माओवादीमा फर्कंदै हुनुहुन्छ । तपाईं मुलुकभरको स्थिति हेर्न सक्नुहुन्छ । म अहिले ती कुराहरूमा चर्चा गर्न चाहन्नँ । महोत्तरीका टेक बहादुर बलम्पाकी माओवादीमै फर्किनुभयो भने रौतहटका प्रभु साह अहिले एमाले परित्याग गरी स्वतन्त्रबाट चुनावमा उत्रिनुभएको छ । यो तस्वीरले तपाईंले सोधेको प्रश्नको उत्तर दिँदैन र ?

आगामी चुनावको परिणाम कस्तो आउला ?

सतारुढ पाँच दलीय गठबन्धनका कारण हामी बलियो छौँ । यो गठबन्धनले बहुमत पाउनेछ । यसैका आधारमा सरकार बन्नेछ । ढुक्क हुनुस् गठबन्धनले बहुमत ल्याउँछ । गठबन्धनको पक्षमा धेरै माहोल बनेको छ । गठबन्धन बाहिरका कतिपय नेताहरूको हिसाब फेल हुने गरी गठबन्धले मत ल्याउँछ ।

तपाईं महोत्तरी क्षेत्र नं. १ बाट चौथौपटक उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, तपाईंलाई किन जिताउने ?

मैले यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै संविधान निर्माणमा आफ्नो भूमिका खेलेँ । जनताको पक्षमा संविधान बन्यो । भूकम्प, मधेश आन्दोलन, कोरोना महामारीका कारण निकै चुनौतीपूर्ण अवस्थामा पनि म यहाँका जनतासँग जोडिएर काम गरेँ । तपाईं १५ वर्ष पहिले र अहिलेको बर्दिबासको तुलना गर्नुस् । महोत्तरीमा निकै विकास भएको छ । यो क्षेत्रमा रणनीतिक महत्त्वका कामहरू भएका छन् । भन्नलाई त नेताले केही गरेनन् भन्न सजिलो होला । तर, हामीले गरेको काम हेर्नुस् । त्यसै यहाँका जनताले पटक पटक माया गर्नुभएको त होइन होला नि । सोही कारण यहाँको विकास, संविधानको रक्षा र समृद्धिका लागि यहाँका जनताले मलाई पुनः मत दिनुहुन्छ ।

शिक्षामन्त्री हुँदा देशकै गौरवको रूपमा परिचित बर्दिबास मेडिकल कलेजको प्रक्रियाको शुभाराम्भ गरेँ । गौशाला आयुर्वेदिक शिक्षालय र गौशालामा रेल्वे ईन्जिनियरिङ कलेजको पठनपाठन गराउने योजना अगाडि ल्याएको छु । त्यस्तै निगौल गाई गौशालामा गाईको अनुसन्धान र पशु तथा कृषि शिक्षाको लागि नगरपालिकाको समन्वयनमा चितवनको रामपुर कलेजको आंगिक कलेजको रूपमा पठनपाठन गराउने प्रक्रिया अन्तिम चरणमा छ ।

मतदाताको अपेक्षाचाहिँ कस्तो पाउनुभयो ?

यहाँका जनताको मुख्य चिन्ता र चासो शिक्षा र स्वास्थ्यको विकासमा रहेको छ । म चाहन्छु यहाँका सर्वसधारणले स्वास्थ्य र शिक्षा सर्वसुलभ र सहज रूपमा पाउन्, त्यसबाट कोही पनि वञ्चित हुन नपरोस् । जनताको अपेक्षा पनि यही छ । त्यसका लागि यो क्षेत्रका जनता मलाई नै नेतृत्व दिन उत्सुक हुनुहुन्छ । म यो क्षेत्रको विकासका लागि ठूला-ठूलो योजनाहरू ल्याउनेछु ।

तर, गत स्थानीय चुनावमा यो क्षेत्रमा माओवादीले अपेक्षाकृत नतिजा निकाल्न सकेको थिएन, हैन र ?

स्थानिय निर्वाचन र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बीचमा धेरै भिन्नता छ । प्रतिनिधिसभाको निर्वाचनमा जनताहरू राष्ट्रिय एवम् दीर्घकालीन मुद्दाको सम्बोधन होस् भन्ने चाहना राख्छन् । त्यसका लागि दक्ष, अनुभवी, प्रखर वक्ता अनि जुझारु नेताहरू छानिन्छन् । यस क्षेत्रका जनताको मनसाय पनि त्यस्तै देखेको छु । अहिलेका मतदाता हरेक विषयवस्तुलाई सूक्ष्म ढंगले मनन गरिरहनुभएको छ । त्यसैले स्थानीय निर्वाचनमा जे जति कारणले उम्मेदवारहरू पराजित हुनुभयो अहिले त्यस्तो स्थिति छैन । तर, दुवै चुनावको लागि साझा विषय भनेको जनताको मत नै हो । मैले ती चुनावमा भएका कमी कमजोरीलाई पहल्याउने कोसिसमा छु । म ती गतिविधीलाई एकदमै निकटबाट मनन गर्दै अगाडि बढ्दैछु । वैशाखमा असन्तुष्ट रहनुभएका नेता-कार्यकर्ताहरू पनि अहिले पार्टीको पक्षमा हुनुहुन्छ ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - १४:३८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology