ललितपुर । ललितपुर निर्वाचत क्षेत्र १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणा विजयी भएका छन् । सता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।
यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार ७ सय २९ मत प्राप्त गरेका थिए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. सचिन घिमिरेले ३ हजार २७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६४१ मत प्राप्त गरे ।
कुल ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय २ मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ ।
प्रदेश क मा एमाले मधुसुदन पौडेल विजयी
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क मा नेकपा (एमाले) का मधुसुदन पौडेल विजयी भएका छन् ।
पौडेल ११ हजार दुई सय ९९ मत प्राप्त गर्दै बागमती प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हरि दाहालले ८ हजार ६ सय ५६ मत प्राप्त गरे ।
प्रदेश ख मा कांग्रेसका मीतकृष्ण महर्जन विजयी
ललितपुर–१ अन्तर्गत ख प्रदेश सभा सदस्यको लागि बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मीन कृष्ण महर्जन बिजयी भएका छन।
गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेल लाई ४ हजार २ सय १४ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सञ्जेलले ९ हजार १ सय ६४ मत प्राप्त गरेका छन् । महर्जन र सञ्जेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए । २०७४ मा सञ्जेलले १२ हजार ८ सय ६६ मत प्राप्त गरी वागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार ७ सय ४२ मत प्राप्त गरी उपविजेता भएका थिए ।