काठमाडौं । सुपरमाई हाइड्रोपावर र बाराही हाइड्रोपावरको आईपीओ आजदेखि खुला भएको छ ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ, जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरेको छ।
त्यसैगरी सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन पाउनेछन्।
यो आईपीओमा आयोजना अतिप्रभावित क्षेत्र इलाम जिल्लाका इलाम नगरपालिका (बारबोटे) ५, इलाम नगरपालिका (सुङ्बेक) २ र माईजोगमाई–५ सोयोङ्का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता छुट्याइएको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ६ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २१ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।
यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ६ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।
स्थानीयले भने इलामको प्रकाशपथस्थित गुडविल फाइनान्स, इलामको चोकबजारस्थित माछापुच्छ्रे बैंक, इलामको भानुपथस्थित सानिमा बैंक, इलामको सितलीस्थित सानिमा बैंक र इलामको बरबोटस्थित सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि आजदेखि आईपीओ निष्काशन तथा विक्री खुला गर्दैछ। कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता शेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।
काठमाडौँको बबरमहलमा रजिष्ट्रार्ड कार्यालय रहेको यस कम्पनीले बाग्लुङ जिल्लाको कुश्मीसेरा र सर्कुवा गाविसको सिमाना स्थित १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन शुरु गरी नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ। विद्युत उत्पादनका लागि कम्पनीले २०७२ भदौ ७ गते अनुमति प्राप्त गरेको थियो। सो अनुमति २१०७ असार २७ गतेसम्म कायम रहनेछ।