काठमाडौं । अफ्रिकी राष्ट्र मोरोक्को पहिलो पटक सेमिफाइनलमा पुगेको छ। कतारमा जारी विश्वकप २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरोक्कोले सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो।
पोर्चुगललाई पराजित गरेसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको रुपमा मोरोक्कोले इतिहास रचेको छ।
यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टर फाइनलमा पुगेका थिए। तर, तीनै टोली क्वार्टर फाइनलबाट बाहिरिएका थिए।
शनिबार राति भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १–० ले पराजित गरेको हो। खेलको पहिलो हाफको ४२ औँ मिनेटमा एन नेस्रीले गरेको गोल नै निर्णायक सावित हुन पुग्यो। सो गोलसँगै नेस्री, मोरोक्कोका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले यस विश्वकपमा ३ गोल गरेका छन्।
त्यसैगरी, आइतबार बिहान १२ः४५ मा शुरु भएको क्वाटरफाइनलको अन्तिम खेलमा पछिल्लो विश्वकप विजेता फ्रान्सले इङ्गल्याण्डलाई २–१ ले पराजित गरेको छ। खेलको ८४ औँ मिनेटमा भएको पेनाल्टीलाई ह्यारी केनले गोलमा परिणत गर्न नसक्दा इङ्गल्याण्ड, विश्वकपबाट बाहिरिन पुगेको हो।
खेलमा फ्रान्सका लागि चौआमिनीले खेलको १७ मिनेटमा गोल गरेका थिए भने जिरुडले ७८ औँ मिनेटमा गोल गरेका थिए। इङ्गल्याण्डका लागि एक मात्र गोल केनले ५४ औँ मिनेटमा पेनाल्टीमार्फत गरेको थियो।
यी दुई खेलमा विजयी राष्ट्रहरु अर्थात मोरोक्को र फ्रान्सले सेमिफाइनलमा एक अर्काको सामना गर्नेछन्।