काठमाडौँ । प्रधानमन्त्री पदमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आइतबार प्रचण्डले आफ्नो दल नेकपा (माओवादी केन्द्र) सँगै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंह गरेर १ सय ६९ जना सांसदको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९–९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।
