काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई एमालेमा प्रवेश गराएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो।
माओवादीमा राजनीति गरेका साह मधेसवादी दल हुँदै केही समय अघि एमाले प्रवेश गरेका थिए। एमाले पार्टीले टिकट नदिएको र सो क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए।
साहले स्वतन्त्र उम्मेदवार समूह प्रभु साहको समूहसँग मिलेर चुनाव लडेका थिए।