काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
आज पोखरामा भएको विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आउँदा दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
विमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बताए ।
आज बिहान करिब ११ बजे नेपालको हवाई दुर्घटनाको इतिहासमा अत्यन्त दुःखद घटना भएको उनको भनाइ छ। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका कमल केसीसहित ७२ जना सवार थिए।