काठमाडौँ । सरकारले पोखरामा आज (आइतबार) भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ। आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो।
समितिको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला र सुनिल थापा तथा हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा छन्। समितिको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
समितिलाई ४५ दिनको समयावधि तोकिएको छ। आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि अपनाउनुपर्ने वा गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने छ ।
यसका साथै घटनाका बारेमा परिवारलाई सत्य(तथ्य जानकारी दिन त्रिभुवन विमानस्थलमा कल सेन्टर बनाउने र पार्थिव शरीर आफन्तहरुले चाहेको स्थानमा पुर्याउन सहजीकरण गर्ने निर्णय पनि आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।