काठमाडौं । आजदेखि सगरमाथा जलविद्युत कम्पनीले आज माघ ५ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ११ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा इलाम जिल्ला वासिन्दाले आवेदन दिन सक्ने छन् । त्यस्तै ४ लाख ३६ हजार ८ सय कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको छ ।
स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा माघ १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने छ ।श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा माघ १९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन सम्बन्धी व्यवस्थाबाट समेत प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन्।
स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।
कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।