काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्ने मिति तय गरेको छ ।
कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
सर्वसाधारणमा निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा विक्री गर्न लागेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको छ । सर्वसाधारणमा आईपीओ विक्री खुला हुने मिति छिटोमा फागुन १५ गतेसम्मका लागि तोकिएको छ ।
छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिने मिति तय गरेको छ ।
यो आईपीओ खरीदका लागि दुबै समूह अन्तर्गतका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७–०७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।