Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ

दैनिकी न्यूज

१०, माघ २०७९
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
images

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका–३ बस्ने ४१ वर्षीय महवुव आलम र बारा सिम्रौनगढ नगरपालिका–३ बस्ने २० वर्षीय मोहमद आदिल आलम रहेका छन् । उनीहरुमध्ये महवुव मोरङ बिराटनगर महानगरपालिका–१ शान्ति चोकबाट र मोहमद सप्तरी राजविराज नगरपालिका–५ लंका टोलबाट पक्राउ परेका हुन् ।

नेपाल क्रिकेट संघको आयोजना तथा सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यवसायिक साझेदारीमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा गत पुस ९ देखि २७ गतेसम्म सञ्चालन भएको नेपाल टी(२० क्रिकेट लिगमा लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले खेलमा मिलोमतो तथा अनियमितता गरी राष्ट्रको प्रतिष्ठा, खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा आँच पुर्‍याउने किसिमका गतिविधिहरूमा संलग्न रहेको खुल्न आएपछि उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने कसूर मुद्दाको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुवले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको, मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएकोमा उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा रहेको वन एक्सबेटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो श्रोत भन्ने दावी गर्ने गरेको र निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेकोमा हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामग्री उपलब्ध नभएको समेत छानविनको क्रममा खुल्न आएको छ ।

उक्त प्रतियोगितामा सहभागी केही फ्र्यान्चाईज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको श्रोत नखुलेको साथै विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

नेपाल क्रिकेट संघ नै आयोजक भई सञ्चालन गर्ने नेपाल टी-२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छवीमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको खेलको रणनीतिक तथा व्यवसायिक साझेदार र फ्र्यान्चाईज टिमहरूको आर्थिक श्रोत, विगतमा क्रिकेट खेलसँगको आवद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने क्षमता लगायतका विषयमा भेटिङ गर्ने समेतको कार्यमा उचित ध्यान दिन नसकेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १७:५०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology