ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) ललितपुर जिल्लाले २८ औं जनयुद्धको अवसरमा दिपावली गरेर मनाएको छ । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले ललितपुरको लगनखेल चोकमा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हरि दाहाल ललितले जनयुद्धबाट आएको परिवर्तनकै कारण आज नेपालमा जनताको शासन भएको बताए । दाहालले जनयुद्धले आज भन्दा २८ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उद्देश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी केन्द्र) १० वर्ष जनयुद्ध र १६ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्थासम्म आई पुगेको बताए ।
त्यस्तै ललितपुर जिल्ला ईन्चार्ज दिनेश महर्जनले देशको आमूल परिवर्तनमा जनयुद्ध वरदान साबित भएको बताए । उनले भने, ‘जनयुद्धको उपलब्धी संस्थागत हुँदा नेपालमा स्वतन्त्रता र जनताले आफ्नो अधिकार उपभोग गर्न पाएको हो ।’ नेपालका दलित, पीछडा वर्ग, उत्पीडनमा परेका वर्ग, अल्पसंख्यक, गरिब, विपन्नहरूको अधिकारको लागि भएको जनयुद्धको सबभन्दा अमूल्य उपहार भएको बताए ।
आज ललितपुर जिल्लाका विभिन्न चोकहरूमा दीप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइएको माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कट्टेलले बताए ।
माओवादी केन्द्र ललितपुर जिल्लाका सचिव दिपक पुलामीले जनयुद्धबाट आएको परिर्वतनालाई जनताले आत्मसात गर्दा संघीयता आएको बताए । देशमा जनयुद्धकै माध्यमबाट आज जनताले सङ्घीयता देख्न पाएको उनले बताए । दश वर्षे जनयुद्धले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकोमात्र होईन, २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अत्य गरेकोले हामी जनयुद्ध दिवस मनाएको सचिव पुलामीको भनाइ थियो ।
दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्यहरु उर्मिला लामा, राजकाजी महर्जन, गंगा पराजुली, वैकल्पिक केन्द्रीय सदस्यहरु राजु आले मगर, श्रीगोविन्द महर्जन, डोल्मा गोले, राम आचार्य, सुशिल खनाल, अर्जुन कार्की, देवीदत्त पौडेल, कृष्ण बहादुर बल, सुरेश तामाङलगायत दर्जनौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । नेता तथा कार्यकर्ताहरुले सरकारले ‘जनयुद्ध दिवस’मा बिदा दिएर न्याय गरेको बताएका छन्।



