Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आईपीओ अनुमति माग्नेमा झन्डै आधा जलविद्युत् कम्पनी

आईपीओ अनुमति माग्नेमा झन्डै आधा जलविद्युत् कम्पनी

दैनिकी न्यूज

९, फाल्गुण २०७९
आईपीओ अनुमति माग्नेमा झन्डै आधा जलविद्युत् कम्पनी
images

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति माग्दै आवेदन दिने कम्पनीको संख्या २७ छ । तीमध्ये ४४ प्रतिशत (१२ ओटा) कम्पनी जलविद्युत् क्षेत्रका छन् ।

पाइपलाइनमा रहेका १२ जलविद्युत् कम्पनीमध्ये १० ओटाको उत्पादन क्षमता २० मेगावाटभन्दा कम छ । अहिले थोरै उत्पादन क्षमता भएका जलविद्युत् कम्पनीहरूले आईपीओ निष्कासन गर्ने क्रम बढेको छ ।

सेबोनमा आईपीओ अनुमतिका लागि आवेदन दिएको माण्डु हाइड्रोपावरको उत्पादन क्षमता २२ मेगावाट र मोदी इनर्जीको २० मेगावाट छ । यस्तै कुथेली बुखारी स्मल हाइड्रोपावरको शून्य दशमलव ९९८, अपर स्याङ्जा हाइड्रोपावरको २ दशमलव ४, रावा इनर्जी डेभलपमेन्टको ३, अपर लोहोर हाइड्रोपावरको ४, भगवती हाइड्रोपावर डेभलपमेन्टको ४ दशमलव ५, चिरखुवा हाइड्रोपावरको ४ दशमलव ७ र मनकामना इन्जिनीयरिङ हाइड्रोपावरको ५ मेगावाट उत्पादन क्षमता छ । त्यसैगरी थ्री स्टार हाइड्रोपावरको ७ दशमलव १५१, मिड सोलु हाइड्रोपावरको ९ दशमलव ५ र माथिल्लो मैलुङ खोला जलविद्युत्को १४ दशमलव ३ मेगावाट उत्पादन क्षमता छ ।

गत पुस मसान्तसम्मको देशको वित्तीय तथा आर्थिक स्थितिसम्बन्धी नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से० मा सूचीकृत कम्पनीमध्ये २५ दशमलव ३० प्रतिशत (६३ ओटा) जलविद्युत्का छन् ।

नेपालमा अहिले सयौंको संख्यामा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । जलविद्युत् कम्पनीहरूले आयोजनाका लागि लगानी जुटाउन आईपीओ निष्कासन गर्ने गरेकाले निकट भविष्यमा नेप्सेमा सूचीकृत कम्पनीमा ठूलो अंश जलविद्युत्को हुने देखिन्छ ।

शेयरबजारका जानकारहरू बजारमा सीमित क्षेत्रका कम्पनीहरूको अंश बढी हुँदा समग्र बजार विकास र विस्तारमा प्रभाव पर्ने बताउँछन् । अहिले नेपालमा सूचीकृत कम्पनीहरूमा झन्डै ६० प्रतिशत बैंक तथा वित्तीय क्षेत्र र बीमाको छ । त्यसैले अहिले बैंक, वित्तीय र बीमाक्षेत्रमा नीतिगत परिवर्तन हुँदा समग्र बजार प्रभावित हुने जानकारहरूको दाबी छ ।

बजारका जानकार तथा स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की जलविद्युत् कम्पनीका प्रमोटरहरूले लकइन पिरियड सकिएपछि आफूसँग भएको शेयर बेची बजारबाट पैसा निकालेर अन्य क्षेत्रमा लगानी गर्ने ट्रेन्ड बढेको बताउँछन् ।

धेरैभन्दा धेरै जलविद्युत् कम्पनी निर्माण हुनु समग्र राष्ट्रका लागि राम्रो भए पनि सूचीकृत जलविद्युत् कम्पनीका कारण बजारबाट पैसा बाहिरिने गरेको कार्कीको दाबी छ । यस्तो प्रवृत्तिले बजारमा दीर्घकालीन प्रभाव पार्ने कार्कीको भनाइ छ । यो खबर आजको आर्थिक अभियानमा अनन्त्य सुन्दरले लेखेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०८:०४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology