काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आज भएको मतदानमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा पौडेल विजयी भएका हुन् ।
नेपाल कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पौडेलले ३३ हजार ८०२ मतभार पाए । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
त्यस्तै नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल आठ सय ८२ मतदाता थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।
राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी नै भएको थिएन।