Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

दैनिकी न्यूज

२८, फाल्गुण २०७९
नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य
images

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले २ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ४८ रन बनायो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ११२ बलमा ७७ रन बनाए ।

लगातार विकेट गुमेको स्थितिमा मैदान प्रवेश गरेका रोहितले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।

त्यसअघि नेपालका ओपनरद्वय आसिफ शेख शून्य र कुशल भुर्तेल ८ रनमा आउट भएका थिए। नेपालले पाँच ओभर चल्दै गर्दा दुवै ओपनरलाई गुमाएको थियो। ७.१ ओभरमा २२ रनको स्थितिमा तेस्रो विकेट गुमाउने क्रममा नेपालका कुशल मल्ल ९ रनमा पेभिलियन फर्के।

तीन विकेट गएको अवस्थामा धैर्यपूर्वक ब्याटिङ गरेका भीम सार्कीले २९ रन जोडे। उनले ३७ बलमा ४ चौका प्रहार गरे। आरिफ शेखले जोडेको ४३ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। उनले ५२ बलमा ५ चौका हिर्काए।

गुल्शन झाले ३७ रन जोडे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ३४ रन बनाएर आउट भए। उनले ३ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछाने र सोमपाल कामी समान २–२ रनमा आउट भए।

बलिङमा युएईका आयान खान, जहूर खान, जावर फरिद र रोहान मुस्ताफाले २–२ विकेट लिए।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो। युएई भने यस सिरिजको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । युएई पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो ।

विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएई बाँकी तीन खेल जितेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न चाहन्छ ।

युएईलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न नेपाललाई पराजित गर्नेपर्ने हुन्छ । यो खेल जितेर नेपाल भने २ खेल अगाबै एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा ३३ खेलमा १६ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३४ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा रहेको छ ।

उता, युएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १३:३१:३६ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # रन

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology