काठमाडौं । आजदेखि मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन भएको छ ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा ६ लाख ७८ हजार ६०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँट गरेको हो ।
स्थानीयमा कम्पनीले ७ लाख ६० हजार कित्ता शेयर छुट्याएको थियो । स्थानीयमा वितरण हुन नसकेको ८१ हजार ४०० कित्ता शेयरसमेत सर्वसाधारणमा जारी गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू। ७६ करोडको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता शेयर स्थानीयमा समेत सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो ।
दोस्रो चरणमा विक्री गर्न लागिएको कुल कित्ता शेयरमध्ये ८० हजार ७० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओको विक्री अवधि छिटोमा चैत २२ गतेसम्म निर्धारण गरिएको छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा आगामी वैशाख ३ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएकाले चैत २२ गतेसम्म मात्र कम्पनीको आईपीओ विक्री खुला हुने निश्चित छ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।