Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पढाइ सुरु नहुँदै देशभरका विद्यार्थीका हातमा पुग्यो पाठ्यपुस्तक

पढाइ सुरु नहुँदै देशभरका विद्यार्थीका हातमा पुग्यो पाठ्यपुस्तक

दैनिकी न्यूज

३, बैशाख २०८०
पढाइ सुरु नहुँदै देशभरका  विद्यार्थीका हातमा पुग्यो पाठ्यपुस्तक
images

काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो ।

यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ ।

यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको छ । निजी मुद्रणले कक्षा १–५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् ।

केन्द्रका अनुसार शनिबारसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु–याइसकिने दाबी गरे ।

केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०६:२४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology