काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।
उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । आज पक्राउ परेका दुईसहित उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।