काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजार मापन परिसूचक नेप्से ३७.६२ अंकले घटेको छ । सोमबार पनि नेप्से २६ दशमलव ६६ अंकले घटेर २ हजार २०० अंकमा रोकिएको थियो ।
गएको आईतबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । त्यसदिन उच्च अंकले बढेको नेप्से त्यसपछि भने लगातार ओरालो लागिरहेको छ ।
मंगलबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब ८३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ४ अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको थियो । आज २ सय ६७ कम्पनीका ७५ लाख १३ हजार ३ सय ९९ कित्ता सेयर ५२ हजार ४ सय ३३ पटक किनबेच भएका छन् ।
आज कारोबारमा आएका २७ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १ सय ८६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२२ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग तथा विकास बैंक उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।
आज किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।