Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रिमियममा आईपीओ निष्काशन गर्दै भगवती हाइड्रोपावर

प्रिमियममा आईपीओ निष्काशन गर्दै भगवती हाइड्रोपावर

दैनिकी न्यूज

२९, श्रावण २०८०
प्रिमियममा आईपीओ निष्काशन गर्दै भगवती हाइड्रोपावर
images

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रिमियममा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १९ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। 

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - ०७:३५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology