काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
मंगलबार जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतीय टिमले २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।
ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको नेपालको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पोविलियन फर्किएका थिए । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे ।
त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । भारतको जितमा यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
अन्तिम ओभरमा रिंकु सिंहले तीव्र गतिका बलर अभिनाश बोहरालाई दुई चौका र दुई छक्कासहित कुल २५ रन प्रहार गरेका थिए । रिंकु १५ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा नटआउट रहे । शिबम दुबे १९ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्रिजमा रहे ।
पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १०३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए ।
गायकवाडले २३ बलमा ४ चौकासहित २५ रन बनाए । तिलक बर्मालाई १० बलमा २ रनमा आउट भए । उनी सोमपालको बलमा बोल्ड आउट भए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।
कप्तान रोहित पौडेलले ३ ओभरमा २६ रन खर्चे । नेपालले समूह चरणमा मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारतले अव बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।