काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गरे । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको दाबी गरे ।
प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे ।
संविधानको धारा १६३ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत नपाए पुुनः १६८ (५) अन्तर्गत बन्ने सरकारको मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाव लिएर उनले राजीनामा दिएका हुन्।
कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।
उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रवधान अनुसार शनिबारका लागि प्रदेशसभा बैठक आह्वान भएको थियो।