बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ मा सञ्चालन भइरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा पानी ट्याङ्की फुटबल क्लब निजगढ–११ रतनपुर विजयी भएको छ । डम्बरपुर फ्याफुल्ला फुटबल क्लबको घरेलु मैदानमा सोमबार भएको खेलमा पानी ट्याङ्की ०–२ गोल अन्तरले विजयी भएको हो ।
पानी ट्याङ्कीका लागि संघर्ष मगर र उदित चौधरीले सम्मान एक/एक गोल गरे । पानी ट्याङ्कीका तर्फबाट सुजन डंगोलको हेडपास्लाई सदुपयोग गर्दै उदित चौधरीले प्रहार गरेको बलले जाली चुमेका थिए । चौधरीले टोलीलाई दोब्बरको अग्रता दिलाएका हुन । जितसँगै पानी ट्याङ्की फाईनलमा पुग्न सफल भएको छ । फाईनल भिडन्तकालागी पानी ट्याङ्कीले असोज ३० गते मंगलबारको खेल तपोभुमी र जनजागृतीविचको नतिजा पर्खिनु पर्ने छ ।
बडा दशैको शुभकामना आदानप्रदान, शक्तेश्वर गुफा र झर्नाको प्रबर्द्धन गर्ने उद्देश्यले खेल आयोजना गरेको आयोजकले जनाएको छ । आयोजनाले गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका स्तरबाट खेलाडीहरूलाई प्रशिक्षण सहित फुटबल खेलमा सहभागी गराई खेलाडी उत्पादन गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।
खेलको म्यान अफ द म्याच पानी ट्याङ्की फुटबल क्लब रतनपुरका खेलाडी आयुष गोले घोषित भएका थिए । गोलेलाई निजगढ(१३ भक्तलाल स्थित श्री भगवती आधरभुत विद्यालयका शिक्षाक जीवन पाख्रीनले ट्राफी हस्तान्तरण गरेका थिए । असोज ३० गते मंगलबार जनजागृती फुटबल क्लब निजगढ–५ खोल्मोटोल र तपोभुमी फुटबल क्लब निजगढ–१२ बुङ्गजोरविच प्रतिस्पर्धा हुने आयोजक समितिका सचीव जीवन पाख्रीनले जानकारी दिएको छ ।