ललितपुर । लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणी देवी मेलाको पुजासंगै जात्रा आज (सोमबार) बाट सुरु भएको छ । गत भदौ १६ गते (गाइजात्राको भोलीपल्ट) बाट सुरु भएको १२ बर्षे मेलाको सुरुवात भएको हो । आज असोज शुक्ल द्वितीयाका दिन पूजा आज गरी १४ जना देवगणहरु शक्ति लिन जाने र आउने काम गरेसँगै मेला अन्तर्गतको जात्रा सुरु हुने ललितपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।
'आज पूजा गरेर १४ जना देवगणहरु विभिन्न शक्ति पिठहरुमा शक्ति लिन जाने छन् र शक्ति लिन जानेक्रममा काठमाडौं पचली भैरव, ललितपुरको बालकुमारी, जल बिनायक, पशुपति र पशुपतीको गुहेश्वरी, बल्खुको इन्द्रायणीदेवी, आकाश भैरव र बज्रवाराही आदिमा पूजा गर्ने काम हुन्छ । देवगणहरुले गर्ने यो पुजा गरेको अरु सर्वसाधारणले हेर्न मिल्दैन ।' वडा अध्यक्ष महर्जनले भने ।
एक वर्षसम्म चल्ने ऐतिहासिक लिच्छविकालीन जात्रा मनाउन एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वडाध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।
खोकनाको ऐतिहासिक महत्वपूर्ण जात्राको मनोरञ्जन लिन आउन स्वदेश तथा विदेशमा रहेका सस्कृति प्रेमिहरुलाई रुद्रायणी गुठीका अध्यक्ष (नायो) योगेश महर्जनले आग्रह गरे । श्री स्वस्थानी व्रत कथामा आधारित सिकाली देवी तथा रुद्रायणी देवीको नाच सो १२ वर्षे मेलामा प्रदर्शन गरिने रुद्रायणी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेखनर महर्जनले जानकारी गराए ।
रुद्रायणी गुठीका थकाली वुद्धिरत्न डंगोलले भने, “हामीले रुद्रायणी देवीलाई एक महिना गुप्तवास बसाइसक्यौँ । आज पुजा गरिसकेपछि देवीको शक्ति लिन जान्छौँ । भोली असोज ३० गते मंगलबार असोज शुक्ल तृतीयाका दिन पुरै गाउँ मुकुट लगाएर नाच्ने काम हुन्छ । ”
धार्मिक तथा तान्त्रिक महत्वको यो खोकनाको १२ वर्षे रुद्रायणी देवीको मेला तथा सिकाली नाच विश्वसामु चिनाउने विविध जात्रापर्व एवं संस्कृतिमध्ये विशेष रहेको गुठीका अध्यक्ष योगेश महर्जनले बताए ।