काठमाडौं । आसिफ सेख र कप्तान रोहित कुमार पौडेलले जितको आधार तयार पारेको खेलमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरेपछि त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेपालले लगातार चौथो जित निकालेको छ ।
मूलपानी क्रिकेट मैदानमा नेपालले लिगचरणको आफ्नो अन्तिम खेलमा युएईलाई पाँच विकेटले पराजित गर्यो । युएईले दिएका १६५ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र, आसिफ र कप्तान रोहित पौडेल नायक रहे ।
दीपेन्द्रले १५ बलमै ४० रन बनाए । यस्तै, आसिफले ५० बलमा ६२ र रोहितले ४२ बलमा ४७ रनको योगदान दिए । २.१ ओभरमा ११ रनको अवस्थामा तीन विकेट गुमाइसकेको अवस्थाबाट ९९ रनको साझेदारी गर्दै नेपाललाई आसिफ र रोहितले जिततर्फ डोर्याएका थिए । खेललाई फिनिसिङ गर्ने जिम्मेवारी भने पुनः एकपटक दीपेन्द्रले पूरा गरे । उनले एक छक्का र ६ चौका प्रहार गरे ।
दीपेन्द्र क्रिजमा आउनुअघि आसिफले टी–२० करिअरको तेस्रो अर्धशतक पनि पूरा गरे । नेदरल्यान्ड्स र मलेसियापछि उनले युएईविरुद्ध अर्धशतक बनाएका हुन् । तर, ९९ रनको साझेदारी गर्दै १६औँ ओभरमा नेपाललाई एक सय १० रनको अवस्थामा पुर्याएलगत्तै उनी ६२ रनको अवस्थामा आउट भए ।
पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल भुर्तेल प्लेडअन हुँदै आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । युएईका मोहम्मद जवदुल्लाहको तेस्रो बल खेल्ने क्रममा बलले उनको ब्याटको भित्री किनारा लिँदै अफ स्टम्प उडाइदियो । दुई बल खेलेका कुशलले एक रन बनाए ।
कुशल आउट भएपछि क्रिजमा आएका सोमपाल कामीले पनि आज निराश बनाए । अकिफ राजाको बलमा ठूलो सट प्रहार गर्न खोज्दा उनी भृत्य अरविन्दको हातमा सहज क्याच थमाउन पुगे । चार बल खेलेका उनले दुई रन बनाए ।
नेपालले लगत्तै जारी शृंखलामा विस्फोटक ब्याटिङ गरिरहेका कुशल मल्ललाई गुमायो । उनी जवदुल्लाहको बलमा अनावश्यक रुपमा रन लिन खोज्दा रनआउट हुन पुगे । जारी शृंखलामा उनी दोस्रोपटक रनआउट भएका हुन् । दुई बल मात्र खेलेका कुशलले कुनै रन बनाउन सकेनन् ।
यसअघि, मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको इनिङ्समा असिफ खानले १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए । अन्यको दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सोमपाल कामी र रविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १ विकेट झारेका थिए ।
एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ । यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ ।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो ।