Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा

दैनिकी न्यूज

११, कार्तिक २०८०
आज कोजाग्रत पूर्णिमा
images

काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ।

विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबारदेखि नै सकिएको हो।

तर, लोकव्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको पञ्चांग समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारी बताउछन्।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ।

लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको अधिकारीले बताए।

कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि सुरु गरिँदैछ । आकाशदीपदान पनि आजै साँझदेखि सुरु हुन्छ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने समितिले जनाएको छ। रासस

images
प्रकाशित मिति :कार्तिक ११, २०८० शनिवार - ०६:४४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology