काठमाडौं । ओपनर सयेद अजिजको अर्धशतकप्रेरित मलेसियाले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार अजिजले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गर्यो ।
उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो।
नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५।५ ओभरमा लिए। उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए।
अर्को ओभर नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट गर्यो। दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे।
त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे। त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए।
१४औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए। मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। गुल्सनले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए।
१८औं ओभरमा अभिनासले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे। अभिनासले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए।
बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए। अभिनासले ४ ओभरमा २७ रन खर्चिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १(१ विकेट लिए।
समूह 'एु' मा रहेको नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।