काठमाडौं । अहिलेसम्म ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अझै १२ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छन् ।
मर्जर र एक्विजिसनमा गएपछि अहिले कुल २० वाणिज्य बैंक मात्रै छन् । त्यसमध्ये ७ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा शेयर जारी नगरेका कारण त्यसले नगद वा बोनस के दिन्छ भन्ने बिषयमा लगानीकर्तालाई चासो हुने कुरा भएन् । अरु १२ बैंक लाभांश वितरण गर्न बाँकी छन् ।
सोमबार स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको छ । बैंकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यसअघि सिद्धार्थ बैंकले पनि नगद लाभांद वितरण नै घोषणा गरेको थियो । सिद्धार्थ बैंकले ४।२१ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।
माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।
साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरिसकेको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साथै, एभरेष्ट बैंकले पनि दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ ।
यसैगरी, सानिमा बैंकले दशैंअघि नै वार्षिक साधारणसभा गरेको छ । सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
१२ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी
सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर सेयर जारी नगरेका कारण अब १२ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, एसबिआई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।