बारा । बारा जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर तेक्वान्दो डोजाङ्गको आयोजनामा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी रहेका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले खेल क्षेत्र पहिचान, अनुशासन, आत्मसम्मान र गौरवको क्षेत्र भएकोले यसको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । नगरपालिका क्षेत्रभित्र हुने विभिन्न खेल गतिविधिलाई व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउन नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठनको तयारी पनि अघि बढाएको नगरप्रमुख पुरीको भनाइ छ ।
कार्यक्रम निजगढ नगरपालिका वडा नम्बर ७ को सहयोगमा सम्पन्न भएको हो । बारा जिल्ला र छिमेकी रौतहट जिल्लाका गरि ८ वटा डोजाङ्गको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ १७ केजी देखि ५९ केजीसम्म तथा महिला तर्फ २३ केजीदेखि ५५ केजी समुहमा विभिन्न १९–१९ वट ईभेन्ट सञ्चालन गरिएका सत्यश्वर तेक्वान्दो डोजाङ्गका अध्यक्ष जितसिंह लामाले जानकारी दिनुभयो । सबै ईभेन्टमा गरि आयोजक सत्यश्वर तेक्वान्दो डोजाङ्ग प्रथम, न्यु सिमरा तेक्वान्दो डोजाङ्ग द्वितीय र नेत्रोदय तेक्वान्दो डोजाङ्ग तृतिय भएका छन् ।
महिला पुम्सेमा मुस्कान मुखिया र पुरुष पुम्सेमा सचिन योञ्जनले प्रथम स्थान हाँसिल गरे । कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामाले खेल क्षेत्रको विकासका लागि वडाले पहिलेदेखि सहयोग गर्दै आईरहेको बताए । यो पटक पनि प्रतियोगिता सञ्चालनका लागि वडाले सहयोग गरेको र यसबाट खेल क्षेत्र र खेलाडीको हौसला बढ्ने वडा अध्यक्ष लामाको विश्वास छ ।
प्रतियोगितामा तेकान्दोका राष्ट्रिय कोच विजय शाह, हेमलाल श्रेष्ठ, मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, बारा जिल्ला अध्यक्ष चित्र बहादुर लामा, वडा नम्बर ७ का सदस्य भगवती घिमिरे, कविता लामा, सुभद्रा विश्वकर्मा, सत्यश्वर शिवशक्ति आधारभुत विद्यालयका विव्यस अध्यक्ष हरि प्रसाद चौलागाईँ, प्रधानाध्यापक उमेश कुमार स्वर्णकार, समाजसेवि घनश्याम लम्साल लगायतले विजेतालाई मेडल तथा प्रमाणपत्र प्रदान गरेको थियो ।
कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको भन्दै प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सबैलाई रेफ्री पार्वति बस्नेतले धन्यवाद व्यक्त गरे ।