बारा । निजगढ सिटी फुटबल क्लब मानेचोक फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १३ मानेचोकमा जारी प्रतियोगिताको सेमिफाईनलमा डम्बरपुरको फ्याफुल्ला फुटबल क्लबलाई ३–० ले हराउँदै सिटी मानेचोक पाँचौ संस्करणको मानेचोक कपको फाईनलमा पुगेको हो । खेलमा सिटीलाई विजयी गराउन जर्सी नम्बर ७ का खेलाडी समिर तामाङ्गले दुई गोल गरेका थिए । त्यस्तैगरी जर्सी नम्बर २२ का खेलाडी सागर गौतमले एक गोल गर्दै फाईनलको यात्रा कायम राखेको हो । जितसँगै सिटीले १५ गतेका खेलको विजयी टोलीविरुद्धको उपाधिकालागी भिडन्त तय गरेको छ ।
पहिलो सेमिफाईनल खेल १४ गतेबाट शुरु भएको छ । क्वाटर फाईनलमा रतनपुर पानीट्याङ्कीलाई हराउँदै सिटी फाईनलमा पुगेको थियो । भोलिको खेल दिनको ३ बजे उच्च हिमाल फुटबल क्लब र निजगढ फुटबल क्लब भिडन्त हुने छ । निजगढ फुटबल क्लबले चकरी फुटबल क्लबलाई जितेर सेमिफाइनलमा प्रवेश गरेको छ भने उच्च हिमाल फुटबल क्लबले पदमपोक्जरी फुटबल क्लबलाई पाखा लगाएका थिए ।