ललितपुर । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खांडको हकमा २ न्यायधीशको राय बाझिएको छ । न्यायधीश जनक पाण्डेले उनलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन् भने अर्का न्यायधीश प्रकाश खरेलले न्यायधीश पाण्डेको आदेशमा सहमत हुन नसकिने भन्दै धुनामै राख्नु पर्ने आदेश दिएका छन् । यसो हुँदा अब खांडको मुद्दा तेस्रो न्यायाधीशकोमा पेश हुनेछ ।
अदालतले टोपबहादुर रायमाझी, आङ्टावा शेर्पा, केशव दुलाल, इन्द्रजित राई र टेकनारायण पाण्डेलाई थुनामै राख्ने आदेश दिएको हो । अदालतले टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न , टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा र बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।