काठमाडौं । मङ्सीर ७ गते बिहीबार ठमेलस्थित एक होटलको हलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक समिक्षा चलिरहेको थियो । समिक्षा कार्यक्रममा अनौपचारिक छलफलका क्रममा बागमती प्रदेश अन्तर्गतका एक जिल्ला अस्पतालका निर्देशक (नाम गोप्य राखिएको) ले आफूमाथि एक जना व्यापारीले निकै दबाब र धम्की दिइरहेको जानकारी दिए ।
ती निर्देशकका अनुसार नारायण कार्की नाम गरेका व्यापारीले आफ्ना सामग्री खरिद गर्नका लागि निरन्तर दबाब र धम्की दिइरहेको जानकारी दिए । ती निर्देशकको कुरा सुनेपछि अर्का अस्पतालका निर्देशकले समेत आफूलाई पनि उक्त व्यापारीसँगै उनका पार्टनर नवराज बस्नेतबाट सामग्री खरिदका लागि दबाब आइरहेको बताए ।
अनौपचारिक छलफलका क्रममा पाँचवटा अस्पताल निर्देशकहरूले कार्की र बस्नेतले दबाब दिएको विषय उठेको थियो । उक्त छलफलका क्रममा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च तहका कर्मचारी समेत थिए । उनीहरूले पनि कार्की र बस्नेतको कुराकानी काट्दै दबाब र धम्कीसँग नडराउन निर्देशकहरूलाई सुझाव दिए ।
व्यापारीको नेता कनेक्सनः
विभागको खरिदमा पनि यी दुई व्यापारीले पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा र केही माओवादी नेताहरुको नाम लिँदै आफूलाई टेण्डर पार्न दबाब दिने गरेका छन्,’ स्वास्थ्य विभागका एक कर्मचारीले भने, ‘आफूलाई टेण्डर नपरे मुद्दा हालेर खरिद प्रक्रिया समेत प्रभावित पार्ने गरेका छन् ।’
मंङ्सीर १० गते नेपाल चिकित्सक संघको आयोजनामा भएको राष्ट्रिय स्वास्थ्य सम्मेलनका क्रममा पनि केही जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुले व्यापारीको दबाबले काम गर्न समस्या भएको भन्दै संघका पदाधिकारीसँग गुनासो गरेका थिए । त्यहाँ पनि बस्नेत र कार्कीकै गुनासो आएको थियो ।
कालो सूचीका व्यापारीको दादागिरीः
स्वास्थ्यका दुई महत्वपूर्ण कार्यक्रममा बस्नेत र कार्कीका विषयमा चर्को गुनासो आएपछि हाम्रो प्रतिनिधिले उनीहरुको विषयमा खोजी गरेको थियो । सो क्रममा बस्नेत खरिद प्रक्रियामा गलत काम गरेका कारण विश्व बैंकले कालो सूचीमा परेको तथ्य फेला परेको छ । बस्नेतसँगै उनको कम्पनी नेशनल बायोमेडिकल सप्लायर्स पनि विश्व बैंकको कालो सूचीमा परेको छ । बस्नेतलाई विश्व बैंकले निरन्तर कालो सूचीमा राखेको छ भने उनको कम्पनी नेशनल बायोमेडिकल सप्लायर्सलाई सन् २०१८ अप्रिल १० देखि २०२४ अप्रिल ०९ सम्म कालो सूचीमा राखेको छ । बस्नेतलाई सन् २०१८ अप्रिल १० देखि निरन्तर कालो सूचीमा राखेको विश्व बैंकले जनाएको छ । कार्की पनि गलत कामका कारण प्रहरीको पक्राउमा परेका व्यापारी हुन् । उनले गल्ती नदोहोर्याउने भन्दै माफी मागेपछि छुटेका थिए ।
विश्व बैंकले कालो सूचीमा राखेपछि बस्नेतले कार्कीसँग मिलेर जनमुक्ति हेल्थ इन्टरप्राइजेज नामक कम्पनीमार्फत आफ्ना उपकरण तथा सामग्री खरिदका लागि अस्पताल र स्वास्थ्य संस्थामा दबाब दिन थालेका हुन् । अस्पताल निर्देशकहरु भन्छन्, ‘नेता र मन्त्रीहरूको नाम लिँदै आफ्ना सामग्रीका लागि मिल्ने गरी प्रक्रिया अगाडि बढाउन दबाब दिने गरेका छन् । यस्ता दबाबका कारण अस्पतालमा काम गर्न समेत समस्या भइरहेको छ ।’
किर्ते व्यापारीको भुक्तानी रोक्काः
स्वास्थ्य व्यवसायी संघका अध्यक्ष समेत रहेका बस्नेत र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडामा आर्थिक वर्ष २०७७–०७८ को ठेक्का नम्बर HLMC/G/SC/07/077/78 मा उत्पादन नै नभएको कम्पनीको कागज आफैं बनाई ठेक्का पारेका थिए । उक्त विषय पछि विवादमा आउनुका साथै उनीहरूको किर्ते कामका विषय कार्यालयले थाहा पाएपछि भुक्तानी समेत रोकेको थियो ।
यसका साथै उनीहरूले स्वास्थ्य विभागबाट खरिद हेमोडायलाइसिस मेसिनमा पनि समस्या आएको थियो । भरतपुर अस्पतालको शल्यकक्ष सञ्चालनका लागि प्रयोग हुने सामान निर्मलीकरण गर्ने मेसिन सेकेन्ड ह्यान्ड सप्लाइ गरेका थिए । उक्त विषय अख्तियारमा पुगेपछि हतारमा उनीहरूले उक्त मेसिन फिर्ता लिएर अर्को ल्याएका थिए ।
यसैगरी, उनीहरूले स्वास्थ्य विभागको खरिदका क्रममा किर्ते काम गरेको चाल पाएपछि तत्कालिन विभागका महानिर्देशक डा. गुणराज लोहनीले उनीहरूलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा सिफारिस समेत गरेका थिए ।