Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बालकुमारी घटनामा मृत्यू भएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

बालकुमारी घटनामा मृत्यू भएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने

दैनिकी न्यूज

१४, पौष २०८०
बालकुमारी घटनामा मृत्यू भएका दुई युवकको परिवारलाई सरकारले दस/दस लाख दिने
images

काठमाडौं । बालकुमारी घटनामा मृत्यू भएका व्यक्तिको परिवारलाई सरकारले जनही १०/१० लाख रूपैयाँ दिने भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०÷१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।

घटनामा अछाम, चौरपाटी गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने बर्ष २३ को सुजन राउतको मृत्यू भएको थियो। मृतकको शव सरकारले नै उनीहरुको घरसम्म पुर्‍याइदिने निर्णय गरेको छ।

बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ।

यस्तै, ललितपुरका प्रहरी प्रमुख, एसएसपी शिद्धिविक्रम शाह पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएका छन्। ईपीएस कोरियाका प्रमुख  गुरुदत्त सुवेदीलाई पनि सरुवा गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । 

परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीको गोली र लाठीचार्ज हुँदा दुई युवकको मृत्यू भएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ।

यो घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले शुक्रबार नै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । अन्य सदस्यमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल रहेका छन् ।गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०८० शनिवार - १४:४०:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology