Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सत्ता–प्रतिपक्षीबीच भागवण्डाको प्रयास

सत्ता–प्रतिपक्षीबीच भागवण्डाको प्रयास

दैनिकी न्यूज

१९, पौष २०८०
सत्ता–प्रतिपक्षीबीच भागवण्डाको प्रयास
images

काठमाडौं । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच भागबण्डाको सहमति प्रयास भइरहेको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी (टीआरसी) विधेयक पारित गर्ने विषयलाई अघि सारेर ठूला दलका शीर्ष नेताहरु भागवण्डा मिलाउन छलफलमा जुटेका हुन्।

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा। प्रकाशशरण महतले सत्ता गठबन्धन र प्रतिपक्षी दलका नोहरुबीच टीआरसी विधेयकलगायत केही विषयमा प्याकेजमा सहमति गर्ने तय भएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मूल कुरा टीआरसी विधेयक हो। यसमा शान्ति प्रक्रियाका साझेदार दलहरु एक ठाउँ उभिएर कसरी जाने भन्ने हो। योसँगै राष्ट्रियसभा निर्वाचनलगायतका विषयहरु पनि छन्। उहाँहरु ९एमाले० को पनि केही मागहरु होलान्, तीनलाई सम्बोधन गरेर जाने कुरा हुन सक्छ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने नेताहरुको बसाइ राष्ट्रिय सभाको सन्दर्भ नभई टीआरसीको विषयमा केन्द्रित भएको दाबी गर्नुभयो।

उहाँले प्रधानमन्त्री प्रचण्डले एमालेलाई देखाएर कांग्रेससँगको भागवण्डामा बढी सिटको दाबी गर्ने प्रपञ्च रचेको टिप्पणी गर्दै नेपाल समाचरपत्रसँग भन्नुभयो– ‘शीर्ष नेताहरुबीच छलफल भएको हो, अझै भइरहेको छ । तर, राष्ट्रिय सभामा भागवण्डामा मिलेर जाने भन्ने कुरा गलत हो । एमालेले राष्ट्रिय सभामा भाग खोजेर जाने कुरा भएको छैन।’

केही दिनयता कांग्रेस, प्रमुख प्रतिपक्षी दल एमाले र माओवादी केन्द्रबीच विभिन्न तहमा छलफल हुँदै आएको छ। सोही विषयमा छलफल गर्न एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने सत्ता गठबन्धनसहित एमालेको बालुवाटार बैठकमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेको तर अझै त्यस विषयमा कुनै सहमति नभएको बताउनुभयो।

बिहीबार सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका अध्यक्ष ओलीसहित कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको थियो। यद्यपि बैठकमा के सहमति भयो भन्ने नेताहरुले सार्वजनिक गरेका छैनन् ।

राष्ट्रिय सभामा आफ्नो हार देखेको एमाले कुनै न कुनै मुद्दामा मिलेर केही सिट भए पनि ल्याउने दाउमा रहेको सत्ता गठबन्धनका नेताहरुले दाबी गरेका छन्।

अहिले एमाले गठबन्धनसँग नमिल्दा फागुन २० बाट राष्ट्रियसभामा ८ सिटमा खुम्चने छ । ५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका हाल १७ सदस्य छन्।

तीमध्ये ९ जनाको पदावधि फागुन २० मा सकिँदै छ। सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भएको राष्ट्रिय सभा निर्वाचनबारे भएको छलफलमा प्रचण्डले ‘ग्रिन सिग्नल’ दिएपछि तीन दलका नेताहरूबीच द्विपक्षीय र त्रिपक्षीय छलफल तीव्र भएको छ।

कांग्रेससँगको वार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेलाई केही सिट दिएर सँगै लैजान प्रस्ताव गरेको बताइएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा जीवन शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - ०७:१९:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology