Logo

बुधवार, श्रावण २७ गते २०८३

images

कोरोना बिमा बापतको भुक्तानी अनिश्चित

कोरोना बिमा बापतको भुक्तानी अनिश्चित

दैनिकी न्यूज

२७, पौष २०८०
कोरोना बिमा बापतको भुक्तानी अनिश्चित
images

काठमाडौं । कोरोना बिमा बापतको दाबी भुक्तानी प्रक्रिया अनिश्चित भएको छ । सरकारले कोरोना बापतको रकम निकासा नगर्दा कोरोना बिमा बापतको दाबी भुक्तानी अनिश्चित भएको हो । गत वर्ष सरकारले एक अर्ब रकम निकासा गरेपनि अरू थप रकम निकासा हुन नसक्दा बाँकी दाबीकर्ताले कहिले भुक्तानी पाउँछन् ? भन्ने यकिन छैन ।

गत वर्षको भदौमा सरकारले एक अर्ब रुपियाँ रकम निकासा गरेको थियो । तर उक्त रकम १० हजार व्यक्तिले मात्र प्राप्त गरे । बिमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारले निकासा गरेको एक अर्ब रुपियाँलाई ५५ प्रतिशत मानी बाँकी ४५ प्रतिशत रकम बिमा प्राधिकरण र बिमा कम्पनीले सङ्कलन गरी १० हजारलाई वितरण गरिएको हो ।

उनका अनुसार पहिले दाबी गर्ने सर्वसाधारणले पहिलो चरणमा बिमा बापतको रकम पाएका छन् । सरकारले बनाएको मापदण्ड अनुसार पहिलो चरणमा आमसर्वसाधारणलाई वितरण गरिएको हो ।

उनले भने, “सरकारले गत वर्ष निकासा गरेको एक अर्ब रुपियाँमा बिमा प्राधिकरण र बिमा कम्पनीले केही रकम थप गरी पहिलो चरणमा सर्वसाधारणलाई वितरण गरेका थियौँ । पहिलो दाबी गर्ने दाबीकर्तालाई प्राथमिकता दिएर नै वितरण गरेका हौँ ।’’

अब अर्थ मन्त्रालयबाट रकम निकासा नभएसम्म कोरोना बिमाको रकम भुक्तानी गर्न समस्या हुने उनी बताउँछन् ।

कुल १७ लाख ५८ हजार ३४३ जना बिमितले कोरोना बिमा गरेका थिए । जसमध्ये एक लाख ६५ हजार ५९ जना बिमितबाट १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो ।

अर्थ मन्त्रालयले स्वीकृत गरेको कोरोना बिमा मार्गदर्शन अनुसार सुरुको तीन अर्ब ५० करोड रुपियाँसम्मको दाबी भुक्तानी बिमा कम्पनी, नेपाल पुनर्बिमा कम्पनी र बिमा प्राधिकरणले गर्ने उल्लेख छ ।

त्यसपछि बाँकी रहने दायित्व भने नेपाल सरकारले व्यहोर्ने उल्लेख छ । सोही अनुसार बिमा कम्पनीहरूले तीन अर्ब ५० करोडसम्मको दाबी भुक्तानी गरेर पनि थप एक अर्ब ४८ करोड १४ लाख ८८ हजार २३५ रुपियाँ बराबरको दाबी भुक्तानी बिमा कम्पनीले गरेका थिए । तर नेपाल सरकारले कोरोना बिमा बापतको रकम निकासा नगर्दा बिमा कम्पनीले दाबी भुक्तानी रोकेका थिए ।

अहिलेसम्म करिब ६५ हजार हाराहारीले मात्र कोरोना बिमा बापतको भुक्तानी पाएका छन् । बाँकी एक लाख जनाको १० अर्बको हाराहारी रकम भुक्तानी हुन बाँकी रहेको छ ।

सरकारले रकम निकासा नगरेसम्म बाँकी एक लाखले कोरोना बिमा बापतको दाबी रकम भुक्तानी पाउने सम्भावना नहुने उनी बताउँछन् । यो खबर आजको गोरखापत्रमा विष्णु पाण्डेयले लेखेका छन् ।

world vision.jpg

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०६:५२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology