Logo

बुधवार, श्रावण २७ गते २०८३

images

छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाको मृत्यु

दैनिकी न्यूज

२८, पौष २०८०
छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाको मृत्यु
images

काठमाडौं । दाङ, बागलुङ, काठमाडौं, झापा र दोलखामा भएको सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।

दाङ, राप्ती गाउँपालिका-१ पुल्चोकस्थित राप्ती नदीको पक्की पुलमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे.१ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार बाँके नेपालगञ्ज वतन भएका ६० वर्षीया कुसुम बस्नेत समेत १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २४ जनामध्ये ११ जनाको मेडिकल कलेज कोहलपुरमा, ८ जनाको चौराहा अस्पताल बुटवलमा, १ जनाको राप्ती पोलिक्लिनिक भालुवाङमा र १ जनाको सिटी अस्पताल बुटवलमा गरी २१ जनाको उपचार भइरहेको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागलुङ, ढोरपाटन नगरपालिका-५ ट्याङखोलामा बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध.१ ज १९ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-४ खुङगा बस्ने २७ वर्षीय तिलक घर्ती मगर र जिपमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका-१० सतुङगल बस्ने २८ वर्षीया संगिता अधिकारी गैरेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भइरहेको छ ।

काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफस्थित सोल्टी दोबाटो नजिक बा.९१ प १५९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीय रबिन कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, झापा गाउँपालिका-५ स्थित सडकमा बा.४६ प २१०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय गुनाल राजवंशीको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखा, जिरी नगरपालिका-४ सिउरेनीमा लु.३ त ६८८२ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ मोक्पा बस्ने २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष २८, २०८० शनिवार - १६:४१:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology