Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आयो लाइसेन्स छाप्ने कार्ड

आयो लाइसेन्स छाप्ने कार्ड

दैनिकी न्यूज

७, माघ २०८०
आयो लाइसेन्स छाप्ने कार्ड
images

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न छ लाखप्रति कार्ड ल्याइएको छ । कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेपछि यातायात व्यवस्था विभागले पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम सुरु गर्ने भएको छ ।

छपाइ कार्ड सकिएर सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ सुरु हुने जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “छ लाखप्रति कार्ड आएको छ । ल्याब टेस्टपछि छाप्ने काम सुरु हुन्छ । एक हप्तामा ल्याब टेस्ट हुन्छ ।”

विभागका अनुसार हाल करिब १४ लाखप्रति लाइसेन्स छाप्न बाँकी छ । जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइएको हो । अबको ८५ दिनपछि थप छ लाख कार्ड आउने रिजालले जानकारी दिनुभयो । नवीकरण, हराएको र नयाँ लाइसेन्स गरी हाल दैनिक चार हजारप्रति लाइसेन्सको माग छ ।

दुई चरणमा आउने १२ लाखप्रति कार्डभन्दा छाप्न बाँकी लाइसेन्सको सङ्ख्या बढी छ तर महानिर्देशक रिजालले भन्नुभयो, “कार्ड आएपछि दैनिक पाँच हजार छाप्न सकियो भने महिनामा एक लाख ५० हजार छापिन्छ । १२ लाख छाप्न एक वर्ष लाग्न सक्छ । त्यसबिचमा टेन्डरबाट थप कार्ड आउँछ, अब कार्ड नभएर समस्या हुँदैन ।”

१५ लाखप्रति कार्ड र एउटा स्मार्ट छपाइ मेसिनका लागि विभागले नयाँ टेन्डर खुला गरेको छ । आगामी साउनदेखि नियमित छपाइमा लैजाने गरी काम अघि बढेको रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो टेन्डर फ्रान्सले पायो र मेसिन खरिदको टेन्डर भारतको मद्रास सेक्युरिटी प्रेसले पायो । पछि टेन्डरमार्फत जर्मनीले कार्ड ल्याउँदा मद्रास सेक्युरिटी प्रेसले जर्मनीको कार्ड मेसिनले चिन्दैन भनेर एक वर्ष अलमल्यायो, बुझ्दै जाँदा छाप्न मिल्ने रहेछ, यस्ता प्राविधिक कुराले पनि ढिलाइ हुन्छ, टेन्डर खुलाउँदा नै ढिला भएको थियो ।”

तर नयाँ टेन्डरमा कार्ड र मेसिन एउटै कम्पनीबाट ल्याइने भएकाले विगतको समस्या झेल्नु नपर्ने रिजालले बताउनुभयो । छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । जसका लागि अनलाइन फारम भर्दा वा नवीकरण गर्दा आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पुगेरनपुगेको जानकारी विभागको वेबसाइटबाट पनि लिन सकिन्छ ।

२०७२ सालमा स्मार्ट लाइसेन्स लागु भएपछि छपाइको काम बाँकी रहँदै आएको छ । परीक्षा पास गरेपछि दुई वर्षसम्म लाइसेन्स कार्ड कुर्नुपर्ने बाध्यता छ । विभागले श्रम र अध्ययनमा विदेश जाने, शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारी चालकलाई भने निवेदन दिएको दुई÷तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - ०६:५९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology