Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दाङ क्रिकेट लिग–२०८० को दोस्रो संस्करण फागुनमा हुने

दाङ क्रिकेट लिग–२०८० को दोस्रो संस्करण फागुनमा हुने

दैनिकी न्यूज

९, माघ २०८०
दाङ क्रिकेट लिग–२०८० को दोस्रो संस्करण फागुनमा हुने
images

दाङ । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२० को दोस्रो संस्करण फागुनमा हुने भएको छ ।

दाङ क्रिकेट सङ्घले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिए । उनका अनुसार प्रतियोगिता खेल्ने टिमहरूले अक्सनमार्फत खेलाडीहरू खरिद गर्नुपर्ने व्यवस्था गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको बताउनुभयो । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु-१६ का २ जना, यु-१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एकरएक जना मर्की र टिम कप्तानका रूपमा टिम मालिकहरूले अधिकतम मूल्यमा आफै छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट सङ्घका सचिव सज्नु केसीले जानकारी दिए ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरूलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिए ।

प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष मजगैयाँले बताउनुभएको छ । लिगका विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणमा प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका दुई जना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टिम बनाइएको थियो । हरेक टिमका खरिद गर्दा न्यूनतम ८४ हजारदेखि अधिकतम १ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकिएको भए पनि अहिले यसको दायरा बढाइएको छ ।

फागुनमा हुन लागेको दोस्रो संस्करणको डिसिएल प्रदेशमै खेलाडी खरिद गरेर क्लबमार्फत व्यावसायिक प्रतियोगिता गर्दा खेलको विकाससँगै खेलाडीले व्यावसायिक खेल प्रदर्शन गर्न पाउने वातावरण बनेको छ ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । यस प्रकारको प्रतियोगिताले देशभरका खेलाडी जिल्लामा आउँदा यहाँको खेलकुदको बारेमा थाहा पाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नाम चलिसकेका खेलाडीहरूले नाम दर्ता गर्नका लागि समय तोकिने भएको छ । जसका लागि आयोजकले चाँडै निर्णय गरी फ्रेन्चाईजहरुमार्फत फाराम खुलाउने तयारी गरेको छ ।

लिगमा साबिककै घोराही टाइगर्स, दंगाली लायन्स, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा फ्रेन्चाईज टिमहरू सहभागी हुनेछन् । पहिलो संस्करणको दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको थियो ।

images
प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ०८:०८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology