Logo

बुधवार, श्रावण २७ गते २०८३

images

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न

दैनिकी न्यूज

१४, माघ २०८०
‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न
images

काठमाडौँ । नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० मा उल्लेख छ ।

नागमती बाँध आयोजनाले प्रतिवेदन मन्त्रालयमा दिएलगत्तै मन्त्रालयले गत वर्ष भदौ १८ गते सूचना प्रकाशन गरी सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा बन्ने सो बाँधले संरक्षित क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ६५।३०४ हेक्टर जमिन ओगट्छ भने ०।२९५ हेक्टर निजी जग्गा पर्ने देखिएको जनाइएको छ । तल पिँधमा सात मिटर चौडाइ रहने गरी ९४।५ मिटर अग्लो र ५५४ मिटर चौडाइको बाँध निर्माण हुने प्रस्तावित प्रतिवेदनमा उल्लेख छ ।

वातावरण संरक्षण नियमावलीलाई टेकेर वन तथा वातावरण मन्त्रालयले सो आयोजनाको औचित्यमाथि नै प्रश्न उठाएको छ । मन्त्रालयले सोको जवाफ संशोधित प्रतिवेदनमा चित्त बुझ्ने गरी दिन भनेको छ । प्रतिवेदनका सवालमा सुझाव समितिको बैठकले झन्डै ४५ बुँदामा विभिन्न प्रश्नको उत्तर माग गरेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सुझाव सामेल गरेर संशोधन प्रतिवेदन आएपछि त्यो पारित गर्ने नगर्ने भन्नेबारे पुनः छलफल हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालामा तीन वर्षअघि एसियाली विकास बैङ्कसँग सम्झौता गरेपछि आयोजनाको काम अगाडि बढेको हो । प्रस्तावित इआइए प्रतिवेदन हेर्नेबित्तिकै वन मन्त्रालयले आयोजनाको उद्देश्यमाथि नै प्रश्न उठाएको हो ।

बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी फाल्नकै लागि त्यति ठुलो ऋणमा पोखरी बनाउनुपर्ने वा नपर्ने प्रश्न समितिको बैठकमा उठेको छ । ऋणको मामिलामा सरकारले आयोजनाको औचित्य तथा आर्थिक अध्ययन सरकारले गर्नुपर्ने सुझाव दिइने भएको छ । सोधिएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएमा सो विषयमा अझ विस्तृत सुझाव माग गर्ने तयारी मन्त्रालयले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन शाखा अधिकृत मधु घिमिरेले बाँध फुट्दा आउने जोखिमबारे दीर्घकालीन र अल्पकालीन समाधानका उपाय प्रस्ट उल्लेख नगरिएको बताए । उनका अनुसार अर्को विषय भनेको नागमती बाँध संरक्षित क्षेत्रको कोर एरिया उजाड बनाउने गरी बन्दै छ । त्यसलाई वन मन्त्रालयले निकै संवेदनशील रूपमा लिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ०७:११:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology