ललितपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।
ललितपुरको स्वीमिङपुलस्थित कराते एकेडेमी हलमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्त नेता भट्टराई सधैँ प्रेरणाको स्रोत भएको बताए ।

उनले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै भट्टराईसँगको सामिप्यतामा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे ।
नेपाली खेलाडीहरूले देशको शीर विश्वमा उच्च बनाएको भन्दै सरकारले पनि खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
उनले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गरे ।
यस प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका तथा नेपाल कराते महासंघको तत्वावधान एवम् जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा भएको हो ।

कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मदनबहादुर अमात्य, उदयशम्शेर राणा, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्रकुमार श्रेष्ठ, प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरेलगायतको उपस्थिति रहेका थिए ।
आयोजकका अनुसार प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीम सहभागी छन् ।