Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रहरी कल्याण कोषको सुविधाबाट २२ हजार ८३३ जना लाभान्वित

प्रहरी कल्याण कोषको सुविधाबाट २२ हजार ८३३ जना लाभान्वित

दैनिकी न्यूज

४, फाल्गुण २०८०
प्रहरी कल्याण कोषको सुविधाबाट २२ हजार ८३३ जना लाभान्वित
images

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । नेपाल प्रहरीले प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ । नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । यसले प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि गर्नुका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा कोषको रहेको छ ।

gokarneshwor nagarpalika.jpg

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्यहरू गरी जम्मा २२ हजार ८३३ जना लाभान्वित भएका छन् । तीमध्ये शिक्षातर्फ जेहेन्दार छात्रवृत्ति ३० जना, उच्च छात्रवृत्ति १ सय २२ जना, उच्च प्रोत्साहन छात्रवृत्ति २ जना र शौक्षिक कर्जा ६ जना छन् । सामाजिक सुरक्षातर्फ जेष्ठ निवृत्तिभरण २ सय ४० जना, किरिया कर्म खर्च २ सय १३ जना, मृत्यु राहत अनुदान ५० जना र विवाह अनुदान ३ जना छन् । स्वास्थ्यतर्फ औषधि उपचार अनुदान ५८ जना, निर्ब्याजी उपचार सापटी ४ जना र औषधोपचार कर्जाबाट १ जना लाभान्वित भएका छन् ।

यसैगरी सहुलियत ऋणतर्फ सहुलियत नगद ऋण रकम ३ हजार ६ सय ४७ जना र घर निर्माण तथा मर्मत सम्भार कर्जा ५३ जनालाई उपलब्ध गराइएको छ । किस्ताबन्दी सहुलियत ऋणतर्फ नयाँ/पुरानो चारपाङग्रे कार/जिप १५ जना, मोटरसाइकल/स्कुटर ५ सय ८९ जना र घरायसी सामान ८६ जनाले सुविधा लिएका छन् । तालिम तथा वृत्ति विकास (प्रदेश स्तरीय कल्याण कोषबाट संचालित) मा सिपमूलक तालिम ६७ जनाले हासिल गरेका छन् । अन्य सेवा सुविधातर्फ प्रहरी आवास सुविधा ३६ जना, प्रहरी अतिथि गृह १ हजार १०१ जना, नेपाल पुलिस हेल्थ क्लब ७ हजार ८० जना, ज्येष्ठ प्रहरी अतिथि गृह २ सय ६० जना र नेपाल पुलिस स्कुल ९ हजार १४७ जनाले प्राप्त गरेका छन् । यस्तै प्रहरी कर्मचारी युएन मिसन जाँदा उपलब्ध हुने सुविधा २३ जनाले प्राप्त गरेका छन् ।

कल्याण कोषबाट उपलब्ध हुने सुविधा बढाउन नेपाल प्रहरी प्रयासरत छ । कल्याण कोष सम्बन्धी सम्पूर्ण व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाबाट हुने गर्छ । व्यवस्थापनलाई चुस्त राख्न महाशाखा अन्तर्गत विभिन्न शाखाहरू तथा नेपाल पुलिस क्ल्ब, नेपाल पुलिस हेल्थ क्लब, प्रहरी कल्याण कोष पेट्रोल पम्प, नेपाल प्रहरी स्कुल लगायतका निकाय क्रियाशील छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नागरिक सेवामा व्यस्त हुनु पर्ने र अधिकांश समय घर परिवारदेखि टाढा खटिनुपर्ने भएकोले प्रहरी कर्मचारीहरू घर परिवारलाई समय दिन पाउँदैनन् । उनीहरू र आश्रित परिवारलाई आर्थिक अभाव नहोस् र मनोबल उच्च होस् भन्ने उद्देश्यले प्रहरीले कल्याणकारी कार्यक्रम संचालन गरिएको हो । साथै सेवा निवृत्त प्रहरी कर्मचारी तथा तिनका आश्रित परिवार र अशक्त तथा अमर प्रहरी परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदान गर्न कोषले मदत पुर्‍याएको छ । खेलकुदको विकास लगायत विविध कल्याणकारी क्षेत्रहरूमा लगानी गर्ने, आयमूलक तथा सेवामूलक कल्याणकारी कार्यक्रमहरूको विस्तार गर्ने लक्ष्य रहेको छ ।”

कल्याण कोषबाट प्रहरीले सञ्चालनमा ल्याएको पेट्रोल पम्प, हेल्थ क्लब, व्यापारिक भवन, नेपाल पुलिस स्कुलबाट समेत योगदान हुँदै आएको छ । यी सेवाबाट सर्वसाधरण समेत लाभान्वित हुँदै आएका छन् ।

संयुक्त राष्ट्र संघीय मिसनमा सहभागी प्रहरी कर्मचारीबाट हुने योगदान रकम, बैंकमा मुद्धती निक्षेपमा रहेको कोषको मौज्दात रकमबाट आर्जन हुने व्याज, पेट्रोल पम्पहरूबाट हुने आम्दानी, सपिङ कम्प्लेक्स तथा आवास र अतिथि गृह भाडा वापतको आम्दानी, नेपाल पुलिस हेल्थ क्लवबाट हुने आम्दानी, विभिन्न सहुलियत ऋण तथा घर कर्जा लगानीबाट प्राप्त हुने व्याज र अन्य आम्दानी प्रहरी कल्याण कोषको आम्दानीका श्रोत हुन् ।

प्रहरी कल्याण कोष संचालक समितिमा प्रहरी महानिरीक्षक संरक्षक रहने प्रावधान छ । प्रहरी नियमावली, २०७१ को नियम १९४ अन्तर्गत प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० बमोजिम कोष सञ्चालन भइरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८० शुक्रवार - २०:०६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology