Logo

बुधवार, श्रावण २७ गते २०८३

images

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादी किचलोको संकेत

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादी किचलोको संकेत

दैनिकी न्यूज

१६, फाल्गुण २०८०
राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादी किचलोको संकेत
images

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनकै मुख्य दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच किचलो हुने संकेत देखिएको छ।

निर्वाचनपूर्व भएको सहमतिलाई उल्ट्याउँदै माओवादी केन्द्रका नेताहरु पार्टी स्थायी समितिको बैठकमै कांग्रेसलाई अध्यक्ष छाड्न नसकिने विषय जोडतोडका साथ उठाएसँगै उक्त पदमा गठबन्धनभित्रै किचलो हुने संकेत देखिएको हो ।

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले माओवादीले राष्ट्रिय सभाको अध्यक्ष छाड्न नहुनेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनले भने– ‘हाम्रो पार्टीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षको अडान लिनुपर्छ भन्ने अधिकांश स्थायी समिति सदस्यहरूको भनाइ आएको छ। अधिकांश नेताहरुले राष्ट्रिय सभाको अध्यक्ष अरुलाई दिँदा प्रधानमन्त्री छाडेसँगै हाम्रो पार्टी राज्यका कुनै संयन्त्रमा नहुने अवस्थालाई ध्यानमा राख्दै अध्यक्ष छोड्न हुन्न भन्ने मत राख्नुभएको छ ।’

पार्टी बैठकमै नेताहरुले यस्तो कुरा उठाएपछि शीर्ष तहमा भएको पूर्वसहमति कार्यान्वयनमा संशय देखिएको कतिपय कार्यकर्ताको भनाइ छ।

निर्वाचन अघि गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने मोटामोटी सहमति भएको कांग्रेसका नेताहरुको दाबी छ। तर पूर्वसहमतिमा गठबन्धनका नेताको बोली फेरिएसँगै कार्यान्वयनमा किचलो बढ्ने संकेत देखिए पनि अन्त्यमा शीर्ष तहमा सहमति हुने कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

उनले भने– ‘राष्ट्रिय सभा अध्यक्ष बनाउने विषयमा गठबन्धनमा रहेको संसद्को सबैभन्दा ठूलो दललाई सहयोग गर्ने भन्ने नै छ। अहिले आएर नेताहरुले फेरि अर्को कुरा गरे पनि सत्ता गठबन्धनका शीर्ष नेताहरुले यो विषयलाई सहजै टुंगोमा पुर्‍याउनुहुन्छ। गठबन्धनको तर्फबाट एउटै उम्मेदवार हुन्छ ।’

आगामी फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै छ । उक्त पद कांग्रेसको भागमा पर्ने गरी सहमति भएको कांग्रेसका नेताहरुले दाबी गरेसँगै सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र र सत्ताको अर्को सहयात्री दल नेकपा (एकीकृत समाजवादी) ले समेत सो पदमा दाबी गरेको छ।

संवैधानिक परिषद्को सदस्यसमेत रहने अध्यक्ष पद आफ्नो दलले नछाड्ने उक्त दलका सम्मानीत नेता झलनाथ खनालले बताउँदै आएका छन्।

यता माओवादी पोलिटब्युरो सदस्य हिमाल शर्माले अहिलेसम्मको अवस्था हेर्दा सिटौलालाई रोजेको मन्त्रालय दिएर संवैधानिक परिषद्को सदस्यसमेत रहने राष्ट्रियसभा अध्यक्ष माओवादीले राख्ने सम्भावना बढेको बताए।

तीन हप्ताअघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले समेत राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

यो खबर आजको नेपाल समाचारपत्रमा जीवन शर्माले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - ०७:४४:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology