Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सात महिनामा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार १२२ नमूना परीक्षण

सात महिनामा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार १२२ नमूना परीक्षण

दैनिकी न्यूज

१६, फाल्गुण २०८०
सात महिनामा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार १२२ नमूना परीक्षण
images

काठमाडौं । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला भौतिक सवुद प्रमाणहरूको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवम् पहिचान गरी अपराध अनुसन्धान कार्यलाई सहयोग गर्दै न्याय सम्पादन गर्न प्रभावकारी हुँदै आएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत काठमाडौं सामाखुसीमा केन्द्रीय प्रयोगशाला रहको छ । साथै नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई धरान सुनसरी र नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई नेपालगंज बाँके समेत रहेका  छन् । ३ वटै कार्यालयबाट सम्बन्धित निकायहरू प्रहरी, अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ ।  

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा प्रयोगशालामा ५ हजार ५७४ वटा केशका ३० हजार ६१२ वटा नमूना प्राप्त भएका छन् । तीमध्ये नयाँ र पुरानो गरी ५ हजार ४३१ केशका ३३ हजार १२२ वटा नमूना प्रयोगशालाले परीक्षण गरेको छ । तीमध्ये सामाखुशी प्रयोगशालाबाट ३ हजार ५०९ वटा केशका २७ हजार ८९ वटा नमूना, धरान इकाईबाट १ हजार ३३३ वटा केशका ४ हजार २२८ वटा नमूना र नेपालगंज इकाईबाट ५८९ वटा केशका १ हजार ८०५ वटा नमूना परीक्षण गरिएको हो । आर्थिक २०७९/०८० मा सामाखुशी प्रयोगशालाबाट ६० हजार ५३ वटा, धरान इकाईबाट ४ हजार १८० वटा र नेपालगंज इकाईबाट १ हजार ७३४ वटा नमूना परीक्षण गरिएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा ९ हजार ६३३ वटा केश, आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ९०० वटा केश, आर्थिक वर्ष २०७७/०७८ मा ९ हजार ४५६ वटा केश, आर्थिक वर्ष २०७६/०७७ मा ८ हजार ९०५ वटा केश र आर्थिक वर्ष २०७५/०७६ मा १० हजार १०३ वटा केशका नमूना परीक्षण गरिएको थियो । नमूना परीक्षणको प्रभावकारिताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्छन्, “देशभरि घट्ने विभिन्न अपराधका भौतिक सवुद प्रमाणको परीक्षण प्रयोगशालाहरूमा हुँदै आएको छ । ती नमूनाहरूको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान सूक्ष्म तरिकाले हुने गर्दछ । यसबाट अपराध अनुसन्धान, न्याय सम्पादन तथा मानव अधिकारको संरक्षण र सम्वर्धनमा सहयोग पुग्दै आएको छ । परीक्षण कार्यलाई व्यवस्थित, वस्तुगत, छिटोछरितो र प्रभावकारी बनाउन आधुनिक साधनस्रोतको व्यवस्थापन र दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छौं ।”

चालु आर्थिक वर्षमा विष विज्ञान (टक्सीकोलोजी) तर्फ ६ हजार ७६२ वटा, जीव/ सिरम विज्ञान (बायो सेरो) तर्फ ७ हजार ९७९ वटा, रसायन/लागूऔषध (केमेष्ट्री/नार्कोटिक्स) तर्फ ६ हजार ३१७ वटा, डकुमेन्टतर्फ ६ हजार १८७ वटा, शश्त्रास्त्र विज्ञान (व्यालेष्टिक्स) तर्फ २ हजार ४८ वटा, औंठाछापतर्फ ३ हजार २७२ वटा, भौतिक विज्ञान (फिजिक्स) तर्फ १६ वटा, डिएनएतर्फ ३५८ वटा र विष्फोटक पदार्थ (एक्सप्लोसिभ्स) तर्फ १८३ वटा नमूनाको परिक्षण गरिएको छ ।

प्रयोगशालाको स्तरवृद्धि गर्दै थप प्रभावकारी बनाउने सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “प्रत्येक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापन गर्दै लैजाने संगठनको नीति रहेको छ । यसबाट केन्द्रमै नमूना ल्याउने बाध्यताको अन्त्य भई छिटोछरितो परीक्षण र न्याय सम्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।”

प्रयोगशालाको कामबारे जानकारी दिँदै नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका सूचना अधिकारी प्रहरी उपरीक्षक योग बहादुर पाल भन्छन्,, “दैनिक प्राप्त हुने नमूना परीक्षणको लागि सीमित जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गर्दै छिटोछरितो कार्यसम्पादन गर्न प्रयोगशाला सक्रिय छ । यसलाई अझ व्यवस्थित बनाउँदै विशेषज्ञ राय प्रदान गर्न निरन्तर क्रियाशील भई लागी रहेका छौं ।”

images
प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - १७:३८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology