Logo

बुधवार, श्रावण २७ गते २०८३

images

स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर

स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर

दैनिकी न्यूज

२१, फाल्गुण २०८०
स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर
images

काठमाडौं । महिलाहरूले रजस्वलाका बेला अधिक प्रयोग गर्ने स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन नगरप्रमुख उदयकुमार यादवसहित ९ जनाविरुद्ध जनही १३ लाख ९३ हजार ६८७ रुपैयाँ बिगो मागदावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

शहीदनगर नगरपालिकाले आर्थिक वर्ष २०७७-७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावली नै पालना नगरेको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ। जनप्रतिनिधि, कर्मचारी र मिडिया सञ्‍चालकसम्मले गुणस्तरहीन प्याड खरिद गरीरगराई शशर्त अनुदान घोटाला गरेको आयोगले जनाएको छ।

आयोगले तत्कालीन नगरप्रमुख यादव, उपप्रमुख शीलादेवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, तत्कालीन स्वास्थ्य संयोजक कपिलदेव प्रसाद अधिकारी, श्री माध्यमिक विद्यालय हट्ठीपुरवाहाका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, पालिकाका तत्कालीन सब(इञ्‍जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ प्रालि धनुषाका प्रोप्राइटर एवम्‌ राष्ट्रिय दैनिक रेजा टुडेका प्रकाशक अकबर मन्सुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

पत्रिकाका प्रकाशक मन्सुरसँग मिलोमतो गरी खरिद कानूनको प्रावधान विपरीत झुट्टा विवरण एवम्‌ सूचना तयार गरी गलत कागजातहरूको आधारमा बदनियतपूर्ण ढंगले स्यानिटरी प्याड खरिद गरिएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - ०८:१४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology