काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
नेकपा (एमाले) को प्रस्तावमा प्रधानमन्त्री बनेका दाहाललाई कांग्रेसले २०७९ पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो।
एमालेले समर्थन दिएकै अवस्थामा कांग्रेसले पनि समर्थन गर्दै सरकारमा सहभागी भएको थियो। सरकारमा कांग्रेसको प्रवेशसँगै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको थियो।
आइतबार प्रधानमन्त्री दाहालले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि कांग्रेसले समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेको हो।