काठमाडौं । बागमती प्रदेश सभा सचिवालय हेटौंडा मकवानपुरमा कार्यरत अधिकृत छैटौं रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले अर्याललाई हेटौडाबाट पक्राउ गरेर काभ्रे ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
काभ्रेबाट दोहोरो नागरिकता लिएका हाल १०० किलो सुन काण्डमा जेलमा रहेका दावा छिरिङ लामाको नागरिकता सनाखत गरेको उनीमाथि आरोप छ।
दावा छिरिङले काभ्रेबाट के–कसरी नागरिकता लिए भन्ने विषयमा अनुसन्धान जारी रहेको र थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । बुधबार हेटौडाबाट पक्राउ गरेर काभ्रे जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन सुरू भएको डीएसपी श्रेष्ठले जानकारी दिए।
काभ्रे प्रशासनबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा कार्यरत थिए ।
नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो ।
उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरिएको थियो ।