ललितपुर । ललितपुर हुँदै हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्ड ४५ दिन बन्द हुने भएको छ।
मर्मत सम्भारका लागि ललितपुरको बागमती गाउँपालिका काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिएका छन्।
‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द रहेने भएको हो। सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएकोले लोकपथ ४५ दिन यातायात संचालन रोकेर मर्मत सम्भार गरिने महर्जनले जानकारी दिएका छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।
बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । राजपथको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सात दोबाटोसम्म ९२ किलोमिटर लम्बाइ रहेको छ।
